Friday, September 9, 2011

बल्दैछ मन झन झन, निभाउनु छ, बर्सी दे न झरी ।
सुकिसके नयन, भिजाउनु छ, बर्सी दे न झरी ।

कुहिरोले आज, छोप्यो धर्ती, हराएँ म कतै,
बादलु छ गगन, खुलाउनु छ, बर्सी दे न झरी ।

रापिलो तापिलो, द्वन्द मनको, आन्दोलित छन् अङ्ग,
शितलु जो खोज्छन्, रिझाउनु छ, बर्सी दे न झरी ।

जगै ढल्यो घरको, फुल्नै छाडे, सुवासीला फूल,
शुन्य भयो आँगन, ब्युँताउनु छ, बर्सी दे न झरी ।

खडेरीले छोयो, मरे रहर, आज पालुवामै,
नवैलियोस् "जीवन", जोगाउनु छ, बर्सी दे न झरी ।

No comments:

Post a Comment